हाम्रो बारेमा

ऐतिहासिक पृष्ठभूमी
यस केन्द्रको पृष्ठभूमि कुलेखानी जल विद्युत आयोजनाको निमित्त निर्माण गरिएको जलाशय (ईन्द्र सोवर ताल) संग निकट सम्बन्ध रहेको पाईन्छ । विक्रम संवत २०३५ (ई.सं. १९७८) मा निर्माण शुरू भई २०३९ (ई.सं. १९८२) मा सम्पन्न भएको कुलेखानी जलविद्युत जलाशय (इन्द्र सरोवर) मा पानी जम्मा हुने क्षेत्र (कुलेखानी जलाधार) को संरक्षण र व्यवस्थापनको लागि राष्ट्रिय स्तरमा चासोको विषय वन्न पुग्यो । विद्युत उत्पादनलाई निरन्तरता दिनको लागि इन्द्रसरोवार जलाशयलाई थिग्रिकरण हुनबाट बचाउनुपर्ने भएकोले उक्त जलाशयमा पानी जम्मा हुने क्षेत्र (कुलेखानी जलाधार) मा भू संरक्षण तथा जलाघार व्यवस्थापनका कार्यक्रमहरू संचालन भएका थिए । सुरूवातीमा भू संरक्षण तथा जलाधार व्यवस्थापनका कार्यक्रमहरू आयोजनाको रूप (Project basis) मा कार्यान्वयन हुँदा यस जलाधारले निकै महत्व पाएको थियो । विक्रम संवत २०३५ (ई.सं. १९७८) देखि २०५० (ई.सं. १९९३) सम्म भू तथा जलाधार संरक्षण विभाग अन्तर्गत कुलेखानी जलाधार व्यवस्थापन आयोजनाको रूपमा यस कुलेखानी जलाधारमा केन्द्रीकृत रूपमा भू संरक्षण तथा जलाधार व्यवस्थापनका कार्यक्रमहरू सम्पन्न भएका थिए । कुलेखानी जलाधारको संरक्षण तथा व्यवस्थापन राष्ट्रिय महत्वको विषय भएको हुँदा तत्कालिन श्री ५ को सरकार र विभिन्न विकास साझेदार [USAID(1978–1980), UNDP/FAO (1981–1986), FINIDA (1986–1994), EU (1994–2001)] हरूबाट यस कुलेखानी जलाघारको संरक्षण तथा व्यवस्थापनको कार्यक्रमहरूमा आर्थिक तथा प्राविधिक सहयोग प्राप्त भएको थियो । यसै गरी बिक्रम संवत २०४२ सालमा तत्कालिन अधिराजकुमार धिरेन्द्र शाहबाट गरिएको बृक्षारोपण उद्घाटन कार्यक्रमस्थल समेत यही कुलेखानीलाई छनौट गरिएको हुँदा पनि यस कुलेखानी जलाधारको राष्ट्रिय महत्वलाई प्रमाणको रूपमा लिन सकिन्छ ।
विक्रम संवत २०५० (ई.सं. १९९३) मा कुलेखानी जलाधार व्यवस्थापन आयोजना पुनसंरचना भई जिल्ला भू संरक्षण कार्यालय, मकवानपुरमा परिणत भयो र तत् पश्चात भू तथा जलाधार संरक्षणका कार्यक्रमहरू आवश्यकताको आधारमा जिल्लाव्यापि रूपमा सञ्चालन हुन थाले । विक्रम संवत २०६१ (ई.सं. २००४) मा यस कुलेखानीमा रहेको कार्यालय जिल्ला सदरमुकाम हेटौडामा सारियो र हेटौडाबाटै यस कुलेखानी जलाधार लगायत जिल्लाका अन्य स्थानहरूमा आ.व.२०७४।२०७५ (Mid 2018) सम्म कार्यक्रमहरू संचालन भए ।

केन्द्रको स्थापना र संक्षिप्त विवरण
नेपालको संविधान २०७२ (ई.सं.२०१५) वमोजिम तत्कालिन जिल्ला भू संरक्षण कार्यालय खारेज भई नेपाल सरकारको कार्यालयहरु पुनसंरचना गर्ने क्रममा सोही कार्यालय (जिल्ला भू संरक्षण कार्यालय) को साधन श्रोत प्रयोग हुने गरी विक्रम संवत २०७५।०७।१६ (तदनुसार २ नोभेम्वर २०१८) मा कुलेखानी जलाधार आयोजनाको पुरानै भवनमा कार्यालय रहने गरी संघीय जलाधार व्यवस्थापन स्रोत केन्द्र, कुलेखानीको स्थापना भयो । हाल यस केन्द्र इन्द्रसरोवर गाउँपालिका वडा नं. १ सिम्लाङ्ग, मकवानपुरमा रहेको छ । यस केन्द्र वन तथा वातावरण मन्त्रालय, वन तथा भूसंरक्षण विभाग अन्तर्गत रहेको संघीय कार्यालय हो र यसको कार्यक्षेत्र देशव्यापि रूपमा रहेको छ ।

मुख्य उद्देश्यहरू

  • भू-संरक्षण तथा जलाधार व्यवस्थापन सम्वन्धी सम्पूणर् तथ्याङ्कहरु संकलन गरी अध्यावधिक राख्ने ।
  • जलाधार व्यवस्थापन सम्वन्धी अध्ययन गर्ने, गराउने ।
  • प्रमाणित प्रविधिहरुलाई प्रचार प्रसार गर्ने, गराउने ।